जुम्ला तातोपानी गाउँपालिका–७ की ६३ वर्षीया महिलाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पाठेघर र डिम्बाशयसम्बन्धी सफल शल्यक्रिया गरिएको छ। डिम्बाशयमा ट्यूमर देखिएपछि क्यान्सरको आशंकामा उक्त शल्यक्रिया गरिएको हो।
अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कविता साहका अनुसार महिलाको पेट परीक्षण, प्रति योनी परीक्षण, पिण्डको कडापन, गतिहीनता र पाठेघरको स्पष्टता नदेखिएको अवस्था लगायतका लक्षणका आधारमा शल्यक्रिया गर्ने निर्णय गरिएको थियो। अनुसन्धानका क्रममा सिईटी स्क्यान, ट्यूमर मार्करहरू जस्तै सिईए (कार्सिनोएम्ब्रियोनिक एन्टिजेन)को मात्रामा वृद्धि देखिएको थियो। यसले सेरस वा म्युसिनस एडेनोकार्सिनोमाको आशंका उत्पन्न गराएको डा. साहले जानकारी दिइन्।
शल्यक्रियामा कुल पेटको हिस्टेरेक्टमी, द्विपक्षीय साल्पिङ्गो–ओफोरेक्टोमी, ओमेन्टेक्टोमी, एपेन्डेक्टोमी र डिबल्किंग सर्जरी गरियो। शल्यक्रिया सफल भएको र बिरामीको अवस्था हाल हेमोडायनामिक रूपमा स्थिर रहेको पनि चिकित्सकले बताएकी छिन्।
“हिस्टोपाथोलोजी परीक्षणको रिपोर्ट आउन बाँकी छ,” डा. साहले भनिन्, “यदि रिपोर्टमा घातकता पुष्टि भयो भने थप उपचारका लागि केमोथेरापी आवश्यक पर्न सक्छ।”
उनका अनुसार उपचारको बाँकी रणनीति हिस्टोपाथोलोजी निष्कर्ष र बहु–अनुशासनात्मक टोलीको समन्वयमा तय गरिनेछ। सहायक थेरापीका लागि निरन्तर फलो–अप आवश्यक हुने डा. साहले स्पष्ट पारिन्।
शल्यक्रिया सफल बनाउन प्रतिष्ठानका स्त्रीरोग तथा शल्यक्रिया विशेषज्ञ, एनेस्थेसिया टोली र अन्य स्वास्थ्यकर्मीहरूको संयुक्त प्रयास महत्वपूर्ण भएको डा. साहले बताएकी छन्।
