जुम्ला — तातोपानी गाउँपालिकाले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि अक्षकारेष स्थापना गर्ने तयारी गरेको छ। यही असार १० गते गाउँपालिकाको अध्यक्ष नन्द प्रसाद चौलागाईंले आर्थिक वर्ष २०८२/०८३ का नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त योजना सार्वजनिक गरेका हुन्।
अध्यक्ष चौलागाईंका अनुसार ‘जनतासँग अध्यक्ष’ कार्यक्रममार्फत रु ५ लाख बजेट पत्रकारिता क्षेत्रको सशक्तिकरणका लागि छुट्याइएको छ।
पालिकाले विगत केही वर्षयता पत्रकारिता तथा सञ्चार क्षेत्रको सुदृढीकरणमा विशेष प्राथमिकता दिँदै विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको उल्लेख गर्दै उनले यस वर्षदेखि पालिकास्तरीय सञ्चार नीति ल्याएर कार्यान्वयनमा लैजाने बताएका छन्।
उनले भने, “देशमा देखिएका ठूला परिवर्तनहरूमा पत्रकारहरूको योगदान सधैं महत्त्वपूर्ण रहँदै आएको छ। अहिलेको परिवर्तनलाई संस्थागत गर्नका लागि पत्रकार समुदायको सकारात्मक र रचनात्मक सहयोग अत्यावश्यक छ।”
