जुम्ला, कर्णाली प्रदेश — नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवा जुम्ला लगायतका कर्णाली प्रदेशका जिल्लामा अवरुद्ध भएपछि सर्वसाधारणको दैनिक जीवन कष्टकर बनेको छ। जुम्लामा पछिल्ला तीन दिनदेखि टेलिकमको फोन र इन्टरनेट सेवा पूर्ण रूपमा बन्द भएपछि जनजीवन प्रभावित भएको हो।
टेलिकमको फाइबर इन्टरनेट सस्तो र गुणस्तरीय भएकाले छोटो समयमै उपभोक्ता संख्या उल्लेखनीय रूपमा बढेको थियो। तर सेवा अवरुद्ध भएपछि उपभोक्ताले ठूलो असुविधा भोगिरहेका छन्।
नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चौलागाँईका अनुसार, भ्वाइस कल, मोबाइल डाटा तथा वाइफाइ सेवा एकसाथ अवरुद्ध हुँदा सञ्चार, कारोबार, र कार्यालय प्रशासनका काममा व्यापक असर परेको छ।
उनले भने, “असार महिनामा कार्यालयको भुक्तानी लगायतका कार्यहरू इन्टरनेटमार्फत गर्नुपर्ने हुन्छ, तर सेवा अवरुद्ध भएकाले सबै प्रक्रिया ठप्प छन्। संचार गर्नसमेत कठिन भएको छ।”
सञ्चारमाध्यममा कार्यरत पत्रकारहरू र दैनिक समाचार सम्प्रेषणमा संलग्न व्यक्तिहरू विशेष रूपमा प्रभावित भएका छन्।
यसैबीच, नेपाल टेलिकमको कर्णाली प्रादेशिक निर्देशनालय, सुर्खेतले दिएको जानकारीअनुसार, एडीएसएस फाइबर केबलमा समस्या आएपछि जुम्ला, कालिकोट, दैलेख, र मुगुमा सेवा रोकिएको हो।
निर्देशक डा. कमल लामिछानेका अनुसार, दैलेख हुँदै मुगुसम्म फैलिएको फाइबर केबलमा क्षति पुगेपछि इन्टरनेट र एनटीटीभी सेवा अस्थायी रूपमा बन्द भएको छ।
“वैकल्पिक फाइबर मार्ग सञ्चालन तथा क्षतिग्रस्त केबलको मर्मत कार्यलाई तीव्र गतिमा अघि बढाइएको छ,” उनले जानकारी दिए। साथै, प्रभावित ग्राहकहरूको सेवा अवधि समेत बढाइने जानकारी दिए।
नेपाल टेलिकमले सेवा अवरुद्ध हुँदा भएको असुविधाप्रति क्षमायाचनासहित प्रयोगकर्तालाई धैर्य धारण गर्न आग्रह गरेको छ।
कर्णाली प्रदेशको भौगोलिक विकटताका कारण यहाँका अधिकांश नागरिकले नेपाल टेलिकमकै ‘नमस्ते’ सिम प्रयोग गर्दै आएका छन्। यस्तो अवस्थामा नेटवर्क र इन्टरनेट सेवा अबरुद्ध हुँदा लाखौं कर्णालीबासीको जीवन प्रभावित हुन्छ।
नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले टेलिकमलाई चाँडोभन्दा चाँडो मर्मत कार्य सम्पन्न गरी सेवा पुनःसञ्चालन गर्न आग्रह गरेका छन्।
