शहरी पूर्वतयारी तथा आपतकालीन प्रतिकार्य परियोजनाको अन्तर्गत जुम्लाको सदरमुकाम अनामनगरस्थित कर्णाली माध्यमिक विद्यालयमा एक विशेष ‘विपद् बहस कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भयो।
उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाकी अधिकृत ईश्वरा सुवेदीले रेडक्रसले विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा गरिरहेका गतिविधिबारे जानकारी दिइन्। उनले वडास्तरमा विभिन्न सीपमूलक तालिम, जलवायु परिवर्तनसम्बन्धी अभिमुखिकरण कार्यक्रम, सामाजिक सुरक्षा योजनाको कार्यान्वयन, महिला तथा विपन्न समुदाय लक्षित पहल र सञ्चार माध्यममार्फत सञ्चालित सचेतनामूलक कार्यक्रमहरूको चर्चा गरिन्। साथै, सदरमुकामको घामडाँडामा मौसम पूर्वानुमान जानकारी प्रदान गर्न आवश्यक पूर्वाधार निर्माणको तयारीसमेत भइरहेको जानकारी दिइन्।
चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले नगरपालिका अन्तर्गतको विपद् शाखाले विपद् न्यूनीकरणका लागि सक्रिय भूमिका निर्वाह गरिरहेको बताए। नेपाल विद्युत प्राधिकरण जुम्लाका सुपरभाइजर हरिचन्द्र थापाले विद्युत क्षेत्रका आपतकालीन तयारी तथा व्यवस्थापनसम्बन्धी अनुभव सुनाए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा तथा जगदीश चौलागाईं पनि वक्ताका रूपमा सहभागी थिए।
कर्णाली माविका विद्यार्थीहरूले कार्यक्रमका वक्ताहरूसँग विविध जिज्ञासा राख्दै विपद् व्यवस्थापनबारे चासो व्यक्त गरे। सहभागीहरूले यस्ता कार्यक्रमहरूले समुदाय तथा विद्यार्थीहरूमा विपद् चेतना बढाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
