मार्सी धानमा ‘ब्युटाक्लोर’ हाले गाउँपालिकाले सेवा रोक्ने
जुम्ली मार्सी धानमा झारनाशक विषादी ‘ब्युटाक्लोर’नहाल्न कृषि विज्ञले सुझाव दिएका छन् । कृषि विज्ञहरूले उक्त विषादी नहाली प्राङ्गारिक जिल्लाको पहिचान कायम गर्ने कार्यमा सघाउन आग्रह गरेका हुन्।
अझैसम्म लुकीछिपी धान बालीमा झारनाशक विषादी ब्युटाक्लोर हाल्ने गरेको जनगुनासो सुनिएको छ। ब्युटाक्लोर प्रयोग गर्दा मानव स्वास्थ्य, पशुपक्षी, माटो, जल तथा वातावरणमा प्रतिकूल प्रभाव पार्ने कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए । विषादी नहालेर गोड्न ध्यान दिनुपर्ने उनले बताए।
जुम्लाका अन्य गाउँपालिका अन्तर्गतका कृषि शाखाहरूले धान बालीमा झारनाशक विषादी ब्युटाक्लोर प्रयोग नगर्न भन्दै सूचना जारी गरिरहेका छन्। यस्तै जुम्लाको तातोपानी गाउँपालिकाले रासायनिक विषादी प्रयोग गरेको प्रमाणित भए किसानलाई उपलब्ध गराइने सेवा सुविधा रोक लगाउने निर्णय गरेको छ ।
