जुम्ला जुम्ला जिल्लाका आठवटै स्थानीय तहले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो समग्र बजेट सार्वजनिक गरेका छन्। नीति तथा कार्यक्रम असार १० भित्र र बजेट असार मसान्तभित्र पारित गर्नुपर्ने कानुनी प्रावधानअनुसार पालिकाहरूले तोकिएको समयमै बजेट प्रस्तुत गरेका हुन्।
जिल्लाको एकमात्र नगरपालिका चन्दननाथ नगरपालिकाले सबैभन्दा ठूलो ६१ करोड ३२ लाख रुपैयाँको बजेट ल्याएको छ। उपप्रमुख रामदेवी खड्काका अनुसार बजेटमा व्यवस्थित सहरी विकास, वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन, खानेपानी तथा विपद् व्यवस्थापनलाई प्राथमिकता दिइएको छ। साथै, निशुल्क प्राप्त जग्गामा महिला तथा बालबालिकाका लागि सेवा केन्द्र र सेफ हाउस स्थापना गर्ने योजना पनि समेटिएको छ।
तिला गाउँपालिकाले ५१ करोड ३९ लाख ७९ हजार रुपैयाँको बजेट सार्वजनिक गर्दै स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ। उपाध्यक्ष गोरीकला बुढाका अनुसार, १० शय्याको अस्पताल निर्माणलाई तीव्रता दिने योजना पनि बजेटमा समावेश छ।
तातोपानी गाउँपालिकाले ५१ करोड ५९ लाखको बजेट ल्याएको छ। अध्यक्ष नन्दप्रसाद चौलागाईले विशेषज्ञसहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, ज्येष्ठ नागरिक, गर्भवती र बालबालिकाको नियमित स्वास्थ्य परीक्षणमा जोड दिइएको जानकारी दिए।
कनकासुन्दरी गाउँपालिकाले ४९ करोड ७१ लाख ७३ हजारको बजेट पारित गरेको छ। अध्यक्ष दामोदर प्रसाद आचार्यका अनुसार, बजेट शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकासमा केन्द्रित गरिएको छ। उनले जनताको जीवनस्तर उकास्न सेवा प्रवाह र पूर्वाधार विस्तारमा प्राथमिकता दिइएको बताए।
पातारासी गाउँपालिकाले ४३ करोड ५८ लाखको बजेट सार्वजनिक गरेको छ। प्रशासकीय अधिकृत नवीन शाहीले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको बताए। अध्यक्ष पूर्णसिंह बोहराका अनुसार, जडीबुटी संरक्षण, कृषि, पर्यटन तथा शिक्षा बजेटका मुख्य क्षेत्र हुन्।
सिंजा गाउँपालिकाले ४७ करोड २३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार, आन्तरिक राजस्व, संघीय र प्रादेशिक अनुदान स्रोतमार्फत बजेट व्यवस्थापन गरिएको हो। व्यावसायिक शिक्षा, इसिइडी सुधार, एक वडा एक खेलमैदान, र हरियाली विद्यालयजस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको छ।
हिमा गाउँपालिकाले ४० करोड बराबरको अनुमानित बजेट प्रस्तुत गर्दै १८ औं गाउँसभा बैठकमार्फत ६९ बुँदे नीति तथा कार्यक्रम पनि सार्वजनिक गरेको छ। अध्यक्ष लक्ष्मण शाहीले सार्वजनिक बस खरिद र सञ्चालनको योजना समावेश गरिएको जानकारी दिए।
गुठीचौर गाउँपालिकाले ३४ करोड ७९ लाख २५ हजार ९७० रुपैयाँको बजेट प्रस्तुत गरेको छ। अध्यक्ष दानबहादुर बुढाले “कृषि, पर्यटन र जडीबुटी: स्थानीय समृद्धिको आधार” भन्ने नारासहित बजेटलाई एकीकृत पूर्वाधार विकासमा केन्द्रित गरिएको बताए।
यी सबै बजेट स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार तय गरिएका हुन्। अब १५ दिनभित्र कार्यतालिका निर्माण गरी बजेटमा छलफल हुनेछ र आवश्यक संशोधनपछि असार मसान्तभित्र अन्तिम रूप दिइनेछ।
