व्यवस्था अनुसार असार १० गतेसम्म सबै स्थानीय तहले बजेट सार्वजनिक गर्नुपर्ने भए पनि हुम्लामा पाँचवटा गाउँपालिकाले मात्र समयमै आफ्नो अनुमानित बजेट सार्वजनिक गरेका छन् । बाँकी दुई पालिका भने बजेट छलफलमै व्यस्त छन् ।
सदरमुकाम सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु ६४ करोड ३६ लाख ७० हजार २०३ को बजेट प्रस्ताव गरेको छ । पुँजीगत खर्चतर्फ रु २४ करोड आठ लाख ६९ हजार र चालु खर्चतर्फ रु ४० करोड २८ लाख एक हजार २०३ विनियोजन गरिएको छ । आर्थिक विकासमा सबैभन्दा बढी बजेट छुट्याइएको छ—रु २४ करोड आठ लाख ६९ हजार । त्यस्तै, सामाजिक विकासमा रु एक करोड नौ लाख ५० हजार, पूर्वाधारमा रु १९ करोड ४६ लाख ६९ हजार, वन तथा वातावरण र विपद् व्यवस्थापनमा रु १७ लाख ८० हजार र सुशासन तथा संस्थागत विकासमा रु ७० लाख ३१ हजार छुट्याइएको अध्यक्ष विजय भण्डारीले जानकारी दिनुभयो ।
त्यसैगरी, नाम्खा गाउँपालिकाले रु ३७ करोड ६८ लाख ५० हजारको बजेट पारित गरेको छ भने खार्पुनाथ गाउँपालिकाले रु ४७ करोड ६४ हजार ४९९ को बजेट पास गरेको छ । खार्पुनाथको बजेटमा चालु खर्च रु २७ करोड ८३ लाख ६४ हजार ४४९ र पुँजीगत खर्च रु १९ करोड ८१ लाख पाँच हजार २६१ रहेको अध्यक्ष कर्णबहादुर रावलले बताउनुभयो ।
सर्केगाड गाउँपालिकाले आगामी वर्षका लागि रु ५६ करोड ८३ लाख २९ हजार ६९२ को बजेट सार्वजनिक गरेको छ । चालु तर्फ रु ३७ करोड ३३ लाख ७० हजार ६९२ र पुँजीगततर्फ रु १९ करोड ४९ लाख ५९ हजार रहेको छ । कृषि, युवा स्वरोजगार, शिक्षा, विपद् व्यवस्थापन र सडक विस्तारलाई प्राथमिकतामा राखिएको अध्यक्ष ठानबहादुर रोकायाले बताउनुभयो ।
त्यस्तै, ताँजाकोट गाउँपालिकाले चालुतर्फ रु १८ करोड २३ लाख ९३ हजार ९२५ र पुँजीगततर्फ रु १७ करोड ९१ लाख ९९ हजार विनियोजनसहित कुल रु ३६ करोड १५ लाख ९२ हजार ९२५ को बजेट पेस गरेको छ । शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको उक्त बजेटमा शिक्षामा रु २ करोड ५० लाख, स्वास्थ्यमा रु ५० लाख र पूर्वाधारमा रु २ करोड विनियोजन गरिएको हो । दलित बस्ती उत्थान कार्यक्रमका लागि सात वर्षका लागि रु ३५ लाख र स्थानीय पूर्वाधार तथा सहलगानी परियोजनाका लागि रु २ करोड २ लाख विनियोजन गरिएको अध्यक्ष लालकेश जैसीले जानकारी दिनुभयो ।
अर्कोतर्फ, अदानचुली र चङ्खेली गाउँपालिकाले भने कार्यपालिकाभित्र सहमति नजुटेकाले अझै बजेट सार्वजनिक गर्न सकेका छैनन् । ती पालिकामा बजेटसम्बन्धी छलफल जारी रहेको जनाइएको छ ।
