जुम्ला — चन्दननाथ नगरपालिकाको केन्द्रमा पर्ने जिल्ला प्रशासन कार्यालयअगाडि गणेश मन्दिर निर्माणको शिलान्यास गरिएको छ। बिहीबार आयोजित कार्यक्रममा नगर प्रमुख राजुसिंह कठायत, उपप्रमुख रामदेवी खड्का तथा अन्य स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमा शिलान्यास सम्पन्न भयो।
करिब २० लाख रुपैयाँको लागतमा निर्माण हुने मन्दिरले स्थानीय धार्मिक आस्थासँगै सांस्कृतिक पहिचानलाई समेत सुदृढ गर्ने अपेक्षा गरिएको छ। नगर प्रमुख कठायतले मन्दिर धार्मिक स्थल मात्र नभई समुदायको एकता, पहिचान र साझा थलो बन्ने विश्वास व्यक्त गरे। “मन्दिर हाम्रो मौलिक सांस्कृतिक मूल्यलाई जगेर्ना गर्ने माध्यम पनि हुनेछ,” उनले भने।
उपप्रमुख खड्काले मन्दिर निर्माणले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताइन्। “यो मन्दिरले जुम्लाको सांस्कृतिक र कलात्मक पक्षलाई उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्नेछ,” उनको भनाइ थियो।
प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढथापाले परियोजनाका लागि आवश्यक बजेट तथा प्राविधिक पक्ष सुनिश्चित भइसकेको जानकारी दिए। उनका अनुसार मन्दिर निर्माण कार्य आगामी भाद्र महिनासम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ।
मन्दिरको डिजाइनेर तथा इन्जिनियर लोकेन्द्र महतले निर्माण कार्यमा स्थानीय कला र सांस्कृतिक मूल्यको समायोजनसहित गुणस्तरमा विशेष ध्यान दिइएको बताए। “प्राविधिक कारणले ढिलो भए पनि अब निर्माण कार्य समयमै सम्पन्न हुनेछ,” उनले आश्वस्त पारे।
यस मन्दिर निर्माणमा ललितपुर महानगरपालिकाको आर्थिक सहयोग रहेको छ भने चन्दननाथ नगरपालिकाको समन्वयमा काम भइरहेको छ। निर्माणपछि मन्दिरको उद्घाटनमा ललितपुर महानगरपालिकाका मेयरको उपस्थिति रहने नगरपालिकाले जनाएको छ।
