हरेक वर्षको असार १५ गतेलाई नेपालमा “धान दिवस” र “दही चिउरा खाने दिन”का रूपमा विशेष रूपमा मनाइन्छ। किसानहरू खेतमा काम गरेर दही चिउरा खाई विश्राम लिने यो दिनलाई कृषिसंस्कृतिसँग जोडिएको विशेष चाडका रूपमा लिइन्छ। असार महिनामा थकाइ लाग्ने मेहनतपछिको ऊर्जा पुनःप्राप्तिका लागि दही चिउरा उपयुक्त मानिन्छ, जसले शरीरमा शीतलता दिनुका साथै शक्ति प्रदान गर्ने विश्वास रहिआएको छ।
कृषिमा मात्रै होइन, अन्य पेसामा रहेका नेपालीले पनि आजको दिन दही चिउरा खाएर पर्वको अनुभूति गर्ने गरेका छन्। नेपाली संस्कृतिमा दही शुभताको प्रतीकका रूपमा स्थापित छ। नयाँ काम सुरू गर्दा, यात्रामा निस्कँदा वा विदेश जानुअघि दही अक्षता राखेर निधारमा टीका लगाउने र दही खुवाएर बिदाइ गर्ने परम्परा गहिरो छ।
वैज्ञानिक दृष्टिले पनि दही पोषिलो मानिन्छ। पाचन प्रणालीलाई सुदृढ बनाउने दही र मोही आयुर्वेदिक औषधिका रूपमा प्रयोग हुँदै आएको छ। आयुर्वेदमा भनिएको छ, “भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्”—भोजनपछि मोही पिउँदा चिकित्सकको खाँचो पर्दैन। पखाला लाग्दा दही चिउरा औषधिको काम गर्ने चलन अझै जीवित छ।
धान दिवसको शुरुआत
नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार वि.सं. २०६२ सालदेखि असार १५ लाई औपचारिक रूपमा “राष्ट्रिय धान दिवस” का रूपमा मनाउन थालिएको हो। कृषि प्रधान मुलुक भएकाले यो दिवस किसानहरूको सम्मानमा विशेष रूपमा समर्पित छ। वर्षभरको अन्न उत्पादनको आधार यही महिनाबाट सुरु हुने भएकाले किसान खेतमा जुट्छन्। लोकधुन र असारे भाका गुँजाउँदै, ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला…’ जस्ता गीत गाउँदै खेतमा रमाइलो गरिन्छ।
गर्मीको मौसममा युवायुवती खेतमा रोपाइँ गर्दै हिलो छ्यापाछ्याप गरी रमाउने चलन अझै जीवित छ। असारमा कम्तीमा एकपटक खेतको हिलो छुनैपर्ने विश्वासले जनजीवनसँग धान दिवस गहिरोसँग गाँसिएको छ।
तर, यस वर्ष असार मध्यसम्म पनि देशभर पर्याप्त वर्षा नहुनुका कारण धेरै ठाउँमा धान रोपाइँ ढिलो भएको छ। साथै, कतिपय किसानले मल अभावको गुनासो गरेका छन्। यद्यपि, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने देशभर पर्याप्त रासायनिक मल उपलब्ध रहेको जनाएको छ।
यसरी असार १५ ले कृषि, संस्कृति र परम्पराको अद्भुत संगम प्रस्तुत गर्दै आएको छ, जसले नेपाली समाजको पहिचान र जीवनशैलीलाई प्रतिबिम्बित गर्छ।
