जुम्ला तिला नदीको किनारमा एक अज्ञात पुरुषको शव फेला परेको छ। बिहीबार बिहान करिब साढे ८ बजे चन्दननाथ नगरपालिका–९ स्थित खल्लाचौर नजिकै नदी किनारमा शव देखिएको हो।
स्थानीयवासी दिपेन्द्र रावलले शव देखेपछि जिल्ला प्रहरी कार्यालय, जुम्लालाई खबर गरेका थिए। जानकारी पाएपछि प्रहरी निरीक्षक असीम हमालको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट फोरेन्सिक चिकित्सकसहितको टोली घटनास्थल पुगेको थियो।
शव भेटिएको स्थान जिल्ला प्रहरी कार्यालयबाट करिब तीन किलोमिटर पश्चिममा पर्छ। प्रारम्भिक अनुमानमा मृतकको शव नदीले बगाएर ल्याएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि मृतकको नाम, ठेगाना र परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ।
हाल प्रहरीले शवको पहिचान र मृत्युको कारण पत्ता लगाउन अनुसन्धान थालेको छ। फोरेन्सिक टोलीले पोस्टमार्टमका लागि तयारी थालेको छ। यस्तै घटनाले स्थानीयवासीमा त्रास र चासो उत्पन्न भएको छ।
