काठमाडौँ — हाल देशभर मनसुनी वायु सक्रिय रहेकाले आज दिउँसोदेखि रातिसम्म अधिकांश भूभागमा आकाश बदली रहने छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भने भारीदेखि अति भारी वर्षा पनि हुन सक्ने अनुमान गरिएको छ। त्यस्तै, अन्य प्रदेशका पहाडी क्षेत्रहरूमा पनि एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
त्यसैगरी, देशका उच्च पहाडी तथा हिमाली भू–भागहरूमा हल्का देखि मध्यम वर्षा तथा हिमपातको सम्भावना पनि रहेको बताइएको छ।
आज रातिसम्म देशभर मौसम बदली हुने र विभिन्न क्षेत्रमा वर्षा जारी रहने सम्भावना छ। विशेष सतर्कता आवश्यक क्षेत्रहरूमा जनजीवन प्रभावित हुनसक्ने भएकाले महाशाखाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
