जुम्ला चन्दननाथ नगरपालिका–१, आचार्यस्थित मालिका आधारभूत विद्यालयमा ‘हाम्मो पढ्न्या मैडो’ नामक पुस्तकालय स्थापना गरिएको छ। कला घर जुम्लाको सहकार्यमा स्थापना भएको यो पुस्तकालयले बालबालिकालाई सिकाइमा अभिप्रेरित गर्ने र अध्ययनको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।
विद्यालयका प्रधानाध्यापक हेमन्तबहादुर महतले पुस्तकालय स्थापना प्रति खुशी व्यक्त गर्दै यसले बालबालिकाको ज्ञान र सीप विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले पुस्तकालय निर्माणमा साथ दिने सबैप्रति आभार प्रकट गरे।
उद्घाटन कार्यक्रममा चन्दननाथ नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खडानन्द चौलागाईंले पुस्तकालयलाई ज्ञानको मूल स्रोतको रूपमा चित्रित गर्दै यसले विद्यार्थीहरूमा नियमित पढ्ने बानी बसाल्ने बताए।
वडा नं. १ का वडाध्यक्ष तिलकप्रसाद न्यौपानेले पुस्तकालयलाई अझ प्रभावकारी बनाउन सामूहिक प्रयास आवश्यक रहेको बताए। उनले विद्यालयप्रतिको कुनैपनि कार्यबोझ हटाउन तयार रहेको बताउँदै शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्नु पर्ने धारणा राखे।
नगर उपप्रमुख रामदेवी खडकाले युवा पुस्ताले सामाजिक क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै पुस्तकालय दीर्घकालसम्म टिकाउन नगरपालिकाको तर्फबाट निरन्तर सहयोग गरिने आश्वासन दिइन्। उनले शिक्षामा गरिएको लगानी सधैँ फलदायी हुने उल्लेख गरिन्।
त्यस्तै, नगरप्रमुख राजुसिंह कठायतले पुस्तकालयले शिक्षाको ज्योति फैलाउन भूमिका खेल्ने बताउँदै स्वस्थ र सुपोषित बालबालिकाका लागि यस्तो प्रयास आवश्यक रहेको धारणा राखे।
स्थानीयस्तरमा स्थापना गरिएको यो पुस्तकालयलाई अध्ययन संस्कृति, ज्ञान र सीप प्रवर्द्धनमा महत्वपूर्ण पहलको रूपमा हेरिएको छ।
