डोल्पा । डोल्पा जिल्लाको सदरमुकाम दुनैस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
बी एण्ड बी होटलको तेस्रो तलामा लुकीछिपी जुवा खेलिरहेका उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुकबहादुर खड्काले जानकारी दिए। उनका अनुसार घटनास्थलबाट नगद एक लाख अठार हजार दुई सय पचहत्तर रुपैयाँ र तासका गड्डीहरू बरामद गरिएको छ।
डीएसपी खड्काका अनुसार यसअघि पनि डोल्पामा जुवाखालमा संलग्नहरू पक्राउ परे पनि मुद्दा अगाडि नबढेको अवस्थामा यो पहिलो पटक उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अनुसार मुद्दा दर्ता गरिने तयारी गरिएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरूले जुवाको रकम नगद र बैंकमार्फत लेनदेन गरेका तथ्य खुलेको जनाइएको छ।
