जुम्ला — गुठीचौर गाउँपालिका–५, धौलीगाडस्थित ठूलो हाँका पाटनमा चट्याङ लागेर घाइते भएका सिँजा गाउँपालिका–६, भाडगाउँका धनबहादुर रावतको आठ घण्टापछि उद्धार गरिएको छ।
सोमबार साँझ ८ बजे खलंगाबाट हिँडेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली मंगलबार बिहान ५ बजे घटनास्थलमा पुगेर उद्धार कार्य थालेको थियो। प्रहरी टोलीले रावतलाई स्टेचरमा राखेर सदरमुकामतर्फ ल्याइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रबिनबाबु रेग्मीले जानकारी दिए। घटनास्थलमा फोन सञ्जाल नहुँदा थप विवरण प्राप्त गर्न कठिन भएको उनले बताए।
सोमबार दिउँसो साढे ४ बजे पाटनमा भेडा चराइरहेका बेला अचानक परेको चट्याङले ठूलो क्षति पुर्याएको छ। चट्याङका कारण करिब २ सयभन्दा बढी भेडा मरेको अनुमान गरिएको छ।
