देशभर मनसुनी वायुले प्रभाव जमाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी भागमा औसत स्थानको आसपास र पश्चिमी भागमा औसत स्थानभन्दा केही उत्तरतिर सक्रिय रहेको छ।
यसको प्रभावस्वरूप आज दिउँसो देशभर आकाश आंशिकदेखि सामान्य बदली रहनेछ। अधिकांश प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वा मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही भू-भागमा भने भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ। साथै, देशका उच्च पहाडी र हिमाली क्षेत्रहरूमा पनि हल्कादेखि मध्यम वर्षा र हिमपात हुने सम्भावना छ।
रातिको समय पनि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरूमा चट्याङ र मेघगर्जनसहित हल्का वा मध्यम वर्षा हुन सक्छ। विशेषगरी कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा राति भारी वर्षा हुन सक्ने सम्भावना छ। उच्च पहाडी र हिमाली भू-भागहरूमा भने हिमपातसहितको वर्षा भइरहने संकेत गरिएको छ।
