धनसिंह रावत जुम्ला।
जुम्ला । नेपालमा पहिलो पटक राष्ट्रिय कोदो दिवस भव्य रूपमा मनाइएको छ। “कोदोजन्य परिकारको आहार, खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने नाराका साथ मनाइएको यस दिवसको उद्देश्य कोदो खेतीको संरक्षण, प्रवर्द्धन र उपभोगमा जोड दिनु हो।
जुम्लामा कृषि विकास कार्यालयको अगुवाइमा प्रभातफेरी लगायत विविध कार्यक्रमहरू गरी दिवस मनाइएको थियो। किसानहरूले यो प्रयासलाई सकारात्मक रुपमा लिँदै कोदो खेतीमा राज्यको चासो बढ्नु उत्साहजनक भएको बताएका छन्।
जिल्ला कृषि विकास कार्यालयका अनुसार गत आर्थिक वर्षमा जुम्लामा ३ हजार ८ सय ५० मेट्रिकटन कोदो उत्पादन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा कम हो। हाल जिल्लामा २,७४० हेक्टर क्षेत्रफलमा कोदो खेती भइरहेको छ भने उत्पादन दर १.४१ मेट्रिकटन प्रति हेक्टर रहेको कार्यालय प्रमुख रामभक्त अधिकारीले जानकारी दिए।
अतीतमा जुम्ली जनजीवनसँग नजिकको सम्बन्ध राख्ने कोदो पछिल्लो समय सहरी क्षेत्रमा विशेष परिकारको रूपमा प्रयोग हुन थालेको छ। परम्परागत महत्व बोकेको यो अन्नबाली संरक्षण र प्रवर्द्धनको खाँचो अझै रहेको अधिकारीको भनाइ छ।
देशभर हाल २ लाख २४ हजार ९३५ हेक्टरमा कोदो खेती भइरहेको छ भने गत आर्थिक वर्षमा ३ लाख ७ हजार ३२ मेट्रिकटन कोदो उत्पादन भएको सरकारी तथ्यांक छ। कर्णाली प्रदेशमा मात्रै १४ हजार ५६३ हेक्टरमा खेती भई १६ हजार ३१० मेट्रिकटन कोदो उत्पादन भएको हो।
कोदाका पौष्टिक विशेषता
कोदो क्याल्सियम, फाइबर, आइरन र प्रोटिनको भरपर्दो स्रोत हो। यसमा रहेका पौष्टिक तत्त्वले हाडजोर्नी, रगत, पाचन प्रणाली र मांशपेशीको स्वास्थ्यमा योगदान पुर्याउँछ। कोदो बिस्तारै पच्ने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ, जसले मधुमेह भएका व्यक्तिहरूका लागि विशेष लाभ पुर्याउँछ।
हिमाली संस्कृतिमा कोदोलाई विशेष स्थान दिइन्छ। यसलाई ढिंडो, रोटी तथा स्थानीय रक्सी बनाउन प्रयोग गरिन्छ।
यस वर्ष पहिलोपटक मनाइएको कोदो दिवसले यस अन्नबालीको महत्वबारे जनचेतना फैलाउने र उत्पादन बढाउनेतर्फ नीति निर्माणको आधार तयार पार्ने अपेक्षा गरिएको छ।
