राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा एक साताभित्र सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ । बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार बोर्डले यथासक्य चाँडो नतिजा प्रकाशन गर्न प्रक्रिया तीव्र बनाएको छ ।
“अबको एक साताभित्र नतिजा सार्वजनिक हुन्छ,” उनले बताए, “ढिलोमा साउन महिनाभित्रै नतिजा आउनेछ ।”
कक्षा १२ को परीक्षा गत वैशाख ११ गते सुरु भई वैशाख २४ गतेसम्म सञ्चालन भएको थियो । बोर्डको तथ्याङ्क अनुसार देशभरबाट ५ लाख ११ हजार ५२५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
जसमध्ये, नियमिततर्फ ३ लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ १ लाख १५ हजार ६१७ जना परीक्षार्थी रहेका छन् ।
