जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमै सक्रिय छ । साथै अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गरिरहेका कारण आज देशभर मौसममा प्रभाव पर्ने अनुमान गरिएको छ ।
आज दिनभर देशका अधिकांश स्थानमा आंशिकदेखि पूर्ण बदली रहनेछ । तराईका केही भाग र पहाडी क्षेत्रमा सामान्यदेखि मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा कोशी र बागमती प्रदेशका एक–दुई ठाउँमा भारी वर्षा पर्न सक्ने चेतावनी दिइएको छ । यस्तै गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा समेत हुने सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति पनि देशभर आंशिकदेखि पूर्ण बदली रहने अनुमान छ । लुम्बिनी प्रदेशसहित पहाडी भूभागका धेरै ठाउँमा र तराईका केही क्षेत्रमा मध्यम वर्षा हुने देखिएको छ । त्यस्तै, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा कोशी र बागमतीका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने बताइएको छ ।
विभागका अनुसार गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अत्यधिक भारी वर्षाको जोखिम समेत रहन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
