जुम्ला चन्दननाथ नगरपालिका–१ मा बिहीबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। आर्थिक वर्ष २०८१/८२ को वार्षिक समिक्षा र आम जनताको सहभागितासहितको यो कार्यक्रम वडा कार्यालयको आयोजनामा र कुटीरो रिसर्च सेन्टरको सहजीकरणमा सम्पन्न भएको हो।
ज्येष्ठ नागरिक नन्दकृष्ण गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष तिलक प्रसाद न्यौपानेले चालु आर्थिक वर्षमा भएको ५३ लाख रुपैयाँ बराबरको भौतिक र आर्थिक प्रगतिबारे प्रतिवेदन प्रस्तुत गरे। उनले सडक, ढल, खानेपानी, विद्युत् र अन्य पूर्वाधार योजनामा वडाको प्राथमिकता रहेको उल्लेख गरे।
कार्यक्रममा स्थानीय बासिन्दाले जीवनका आधारभूत सेवासँग जोडिएका विषयमा प्रश्न उठाएका थिए। सडकको बिग्रिएको अवस्था, अपूर्ण ढल व्यवस्थापन, खानेपानीको नियमित आपूर्तिको अभाव लगायतका विषयमा सर्वसाधारणले गुनासा राखेका थिए।
बुद्धिजीवी दयादत्त हमालले सडकको दयनिय अवस्थाले स्थानीयको दैनिकीमा असर पारेको भन्दै दीर्घकालीन समाधान खोजिनुपर्नेमा जोड दिए। जवाफमा अध्यक्ष न्यौपानेले आगामी बजेटमा सडक स्तरोन्नति र ढल सुधारका योजनाहरू समेटिने बताए।
खानेपानी अभावबारे स्थानीय राजबहादुर भक्रीले “पाइप त पुगेको छ, तर पानी आउँदैन” भन्ने गुनासो राखे। वडा सचिव सीता देवी रावलले मर्मत तथा रखरखाव खर्च नियमनका साथ भइरहेको जानकारी दिइन्।
योजनाको उपभोक्ता समिति गठनमा पक्षपात भएको आरोपसमेत कार्यक्रममा उठ्यो। जवाफमा अध्यक्ष न्यौपानेले उपभोक्ता समिति गठनमा वडाले कुनै हस्तक्षेप नगरेको र प्रक्रिया पारदर्शी रहेको दाबी गरे।
कार्यक्रममा रत्नाकर देवकोटा तथा योगी नरहरीनाथजस्ता व्यक्तित्वको सम्मानमा सालिक तथा चोक निर्माण गर्नुपर्ने सुझाव बुद्धिजीवी बालकराम देवकोटाले राखे। अध्यक्ष न्यौपानेले यस विषयमा गम्भीर तयारी भइरहेको बताए।
वडासदस्य कोइरी कुलालका अनुसार, कार्यक्रममा सहभागी स्थानीयवासीले आफ्ना समस्या, गुनासा र सल्लाह राख्न सहज वातावरण पाए। कतिपयले वडाले गरेका प्रयासको प्रशंसा गरे भने केहीले अझ प्रभावकारी कार्यान्वयनको अपेक्षा व्यक्त गरे।
कार्यक्रमले वडाको समग्र विकास प्रक्रिया पारदर्शी, सहभागीमूलक र उत्तरदायित्वयुक्त बनाउने अपेक्षा जगाएको छ।
