रुकुम रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा भिरबाट लडेर एक युवकको ज्यान गएको छ। सिस्ने गाउँपालिकाबाट भलिबल खेलेर फर्कंदै गरेका अजय मल्लको बिहीबार साँझ मुरापाखा डाँडाबाट खस्दा घटनास्थल नजिकै गम्भीर घाइते भएका थिए।
बाँफिकोट गाउँपालिका–१ निवासी ३० वर्षीय मल्ल भलिबल खेलपछि साथीहरूसँग घर फर्किँदै गर्दा बाँफिकोट–२ स्थित डाँडाबाट लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी ऋषि पाठकले जानकारी दिनुभयो।
घटनापछि उनलाई प्राथमिक उपचारका लागि नजिकैको स्वास्थ्यचौकी लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि जिल्ला अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई राति नै मृत घोषणा गरेको पाठकले बताउनुभयो।
