जुम्ला । तिला गाउँपालिका वडा नम्बर ३ त्रिवेणी बजारमा आज साँझ करिब ७ बजे भएको आगलागीमा गोबिन्दनाथ योगीको घर पूर्ण रूपमा जलेर खरानी भएको छ। प्रारम्भिक अनुसन्धान अनुसार खाना पकाउने ग्यास लिक भएर आगो लागेको अनुमान गरिएको छ।
आगलागी सुरु भएलगत्तै आगोले घरको सबै भागलाई घेरेको थियो। स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिए पनि घरभित्रका लत्ताकपडा, अन्नपात, फर्निचर, कागजातलगायतका सम्पूर्ण सामान जलेर नष्ट भएका छन्।
त्रिवेणी बजारको पक्की पुल नजिक रहेको उक्त घरमा आगो नियन्त्रणका लागि दमकल नहुँदा स्थानीयहरूले बाल्टिन र पानीका जार प्रयोग गरेर आगो निभाउने प्रयास गरेका थिए।
घर पूर्ण रूपमा जलेर ध्वस्त भएपछि पीडित परिवार अहिले छिमेकीको घरमा आश्रय लिएको छ। आगलागीबाट ठूलो आर्थिक क्षति भए पनि मानवीय क्षति भने भएको छैन।
