डोल्पा । त्रिपुरासुन्दरी नगरपालिकाले नागरिकलाई सार्वजनिक सेवामा सहजता प्रदान गर्न पहिलोपटक डिजिटल नागरिक वडापत्रको सुरुवात गरेको छ।
यस वडापत्रमा सेवाप्रवाह गरिने शाखाहरू, लाग्ने समय, आवश्यक कागजातहरू र जिम्मेवार कर्मचारीहरूको सम्पूर्ण विवरण उल्लेख गरिएको छ। अब नगरवासीहरूले सेवा लिन जाँदा अन्योलमा पर्नुपर्ने स्थिति हटेको जिल्ला समन्वय प्रमुख श्यामबहादुर रोकायाले बताए। वडापत्र उद्घाटन कार्यक्रममा उनले त्रिपुरासुन्दरी नगरपालिका प्रविधि प्रयोग र विकास निर्माणका हिसाबले जिल्लाभरिका अन्य स्थानीय तहभन्दा अगाडि रहेको भन्दै प्रशंसा गरे।
नगरप्रमुख जनचन्द्र रोकायाले नागरिकले नगरपालिकाबाट प्रदान गरिने सेवा सहज रूपमा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले वडापत्र सञ्चालन गरिएको जानकारी दिए। यस्तै, निमित्त प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर थापाले यो पहलले स्थानीय सरकारप्रति जनउत्तरदायित्व र पारदर्शिता अनुभूति गराउने विश्वास व्यक्त गरे।
उनका अनुसार सेवा लिन आउने नागरिकलाई कुन शाखा, कुन कर्मचारी कहाँ भेटिने, कति समय लाग्ने र कस्तो कागजात आवश्यक पर्छ भन्ने जानकारी डिजिटल वडापत्रमा स्पष्ट उल्लेख गरिएकाले सेवाग्राहीलाई काम गर्न सजिलो हुने छ। यसअघि इन्टरकम टेलिफोन सेवा र ई-हाजिरी प्रणाली जस्ता प्रविधिमैत्री सेवा सञ्चालनमा ल्याइसकेको नगरपालिकाले हाल डिजिटल नागरिक वडापत्र पनि सुरु गरेर प्रविधिमा थप एक कदम अघि बढेको हो।

