जुम्ला — कर्णाली प्रदेशको पहिचान झल्काउने परम्परागत सांस्कृतिक नाच ‘ढालनाच’ संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ। विशेषगरी जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालिकोटलगायतका पहाडी जिल्लामा यो नाच विगत धेरै पुस्तादेखि चलनचल्तीमा रहँदै आएको भए पनि अहिले भने दुर्लभ बन्दै गएको छ।

दलित समुदाय, विशेषतः सार्की समुदायको मौलिक सांस्कृतिक अभ्यासका रूपमा परिचित ढालनाच विशेष अवसर र विवाहका बेला पञ्चेबाजाको तालमा गोल घेरा बनाएर नाच्ने परम्परा हो। हातमा रुमाल र खुकुरी बोकेर सामूहिक रूपमा प्रस्तुत गरिने यो नाच अब भने कहिलेकाहीं मात्र देखिन्छ।

संस्कृतिविद् डा. गोविन्द नेपालीका अनुसार पहिले विवाह, भोज, चाडपर्व ढालनाचबिना अधुरो मानिन्थ्यो। तर पछिल्लो समय प्रविधिको विकास, आधुनिक मनोरञ्जनको प्रभाव र नयाँ पुस्ताको चासो घट्नुका कारण यो नाच संकटमा परेको छ। उनका अनुसार यो नाचमा समेटिएको परम्परा, सुरक्षा अभ्यास र वीरताको झल्को नयाँ पुस्तामा हस्तान्तरण नहुँदा यसको अस्तित्व नै जोखिममा पर्न थालेको हो।

ढालनाचको सांस्कृतिक सन्देश

यो नाच केवल मनोरञ्जनका लागि मात्र नभई सामूहिकता, भाइचारा र एकताको प्रतिक हो। खुकुरी र ढाल प्रयोग गरेर नाचिँदा सुरक्षाको चेतना र सामाजिक मेलमिलापको सन्देश दिइन्छ। पुराना पुस्ताका अनुसार, इतिहासमा गाउँघरमा हुने आक्रमण वा डकैतीको सामना गर्न पुरुषहरू यो नाचमार्फत सामूहिक लडाइँको अभ्यास गर्थे। समयक्रममा त्यो अभ्यास नै परम्परागत नाचमा रूपान्तरण भयो।

ढालनाचले समुदायमा परम्परा, आत्मरक्षा र वीरताको भावना रोप्ने काम गरेको छ। नाचका हरेक चालमा एक खालको सामरिक अनुशासन देखिन्छ — जहाँ ढालले बचाउ र खुकुरीले साहसको प्रतिनिधित्व गर्छ। यसमा सहभागी भएर नयाँ पुस्ताले विगतका सामाजिक र सांस्कृतिक अभ्यासलाई बुझेको अनुभूति गर्न सक्छ।

संरक्षणका लागि चासो आवश्यक

स्थानीय समुदाय र अनुसन्धानकर्ताहरूको भनाइमा, ढालनाच संरक्षणका लागि गम्भीर चासो र पहल आवश्यक छ। यस नाचको पुनर्जीवनका लागि स्थानीय तहबाट तालिम, प्रतियोगिता र प्रोत्साहन कार्यक्रम सञ्चालन गर्नुपर्ने आवाज उठ्न थालेको छ। स्थानीय बासिन्दाहरूको भनाइमा, ढालनाच संरक्षण गर्नु भनेको समुदायको इतिहास र सांस्कृतिक पहिचान बचाउनु हो।

ढालनाचको अस्तित्व जोगाउन सकियो भने यो केवल एक नाचको रूपमै सीमित रहने छैन, बरु कर्णाली क्षेत्रको सांस्कृतिक समृद्धिको जिउँदो प्रतीक बन्न सक्नेछ।

Share.

Leave A Reply

Exit mobile version