जुम्ला ।
कर्णाली प्रदेशको सुर्खेतपछि सबैभन्दा बढी यात्रु चाप हुने जुम्ला विमानस्थलको स्तरोन्नति कार्य लामो समयदेखि अलपत्र छ। प्रत्येक वर्ष बजेट विनियोजन हुँदै आए पनि कार्यान्वयनमा ढिलासुस्ती भइरहेकाले विकास योजनाले गति लिन सकेको छैन।

विमानस्थलको धावनमार्ग विस्तार र पूर्वाधार निर्माणका लागि करिब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको छ। तर, जग्गा अधिग्रहण तथा मुआब्जा वितरणमा देखिएको ढिलाइले गर्दा लागत समेत बढ्दै जाने अवस्था आएको छ।

संघीय सांसद कान्तिका सेजुवालका अनुसार, पछिल्लो तीन किस्तामा गरेर हालसम्म १४ करोड रुपैयाँ निकासा भइसकेको छ। चालू आर्थिक वर्ष २०८१/८२ मा १० करोड रुपैयाँ विनियोजन गरिएको थियो भने आउँदो आव २०८२/८३ का लागि पुनः ४ करोड निकासा भएको छ।

पूर्व मेयर समेत रहेकी सेजुवालले २०७४ सालदेखि नै विमानस्थल विस्तारमा सक्रियता देखाउँदै आएकी हुन्। उनले भनिन्, “वर्षौंदेखि योजना उठान मात्र हुने तर कार्यान्वयन नहुने अवस्था थियो, अब भने काम प्रारम्भ हुने विश्वास छ। मुआब्जा वितरण र जग्गा अधिग्रहणले गति लिनेछ।”

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को योजनाअनुसार, विमानस्थलको धावनमार्ग विस्तारका लागि १८३.८० रोपनी जग्गा आवश्यक छ। जसमा मुआब्जामात्रै ५० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

हालसम्म कुल १४ करोड बजेट निकासा भइसकेको छ भने बाँकी रकम व्यवस्थापनको तयारी भइरहेको सेजुवाल बताउँछिन्। मुआब्जा एकमुष्ट दिने कि किस्ताबन्दीमा भन्नेबारे छलफल भइरहेको र बाँकी बजेटको लागि क्यानको बोर्ड बैठकको पर्खाइमा रहेको उनले जानकारी दिइन्।

जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्यका अनुसार, जग्गा अधिग्रहण प्रक्रिया अन्तिम चरणमा पुगेको छ। “सांसद सेजुवालको निरन्तर प्रयासका कारण अब विस्तार कार्य टुंगोमा पुग्ने चरणमा छ,” उनले भने, “श्रावण दोस्रो हप्तादेखि बाँकी प्रक्रिया अघि बढ्ने तयारीमा सरोकारवाला लागिपरेका छन्।”

सन् १९९४ (वि.सं. २०५१) मा निर्माण भएको यो विमानस्थलको टर्मिनल भवनसमेत जीर्ण भइसकेको छ। त्यसैले नयाँ टर्मिनल भवन र १०५० मिटर लामो धावनमार्ग निर्माणको योजना अघि बढाइएको हो।

हाल ६७० मिटर लामो रनवे विस्तारका लागि जग्गा अधिग्रहण कार्य “जग्गा प्राप्ति ऐन, २०३४” को दफा ४ (१) खण्ड (ख) अनुसार अगाडि बढाइएको छ।

माथिल्लो कर्णाली क्षेत्रको जीवनस्तर र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण मानिएको जुम्ला विमानस्थलको स्तरोन्नतिमा सबै पक्षको सहकार्य अपरिहार्य देखिएको छ।

Share.

Leave A Reply

Exit mobile version