जुम्ला । कर्णाली प्रदेशको मुख्य नगदे बालीका रूपमा परिचित जुम्लाको स्याउले यस वर्ष किसानका मुहारमा खुशी ल्याएको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा साउनदेखि असोज महिनासम्म जुम्लाबाट करिब ३३ करोड सात लाख ५० हजार रुपैयाँ बराबरको स्याउ बाहिरी जिल्लाहरूमा बिक्री गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। किसानहरूले गाला, किङरेड, फुजी लगायतका उन्नत जातका स्याउ व्यावसायिक रूपमा उत्पादन गरी बजार पठाएका हुन्।
कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार हालसम्म करिब ४ हजार ७२५ मेट्रिक टन स्याउ बाहिरी जिल्लामा बिक्रीका लागि पठाइएको छ, र अझै पनि ग्रामीण बगैँचाबाट स्याउ ढुवानीको काम जारी छ। उनले भने, “आगामी मङ्सिर दोस्रो सातासम्म पूर्ण तथ्याङ्क उपलब्ध हुनेछ।” गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा केही कमी हुने अनुमान गरिएको छ।
जुम्लाका आठवटै स्थानीय तहमा स्याउ खेती किसानको प्रमुख आम्दानीको स्रोत बन्दै गएको छ। यहाँका २४ हजार ८३८ घरधुरीमध्ये करिब ७० प्रतिशत अर्थात् १९ हजार २५८ घरधुरी स्याउ खेतीमा संलग्न छन्। तिला गाउँपालिका–१ राराका व्यापारी रावतका अनुसार किसानहरूले यस वर्ष बगैँचामै प्रतिकिलो ७५ रुपैयाँभन्दा बढी मूल्यमा स्याउ बिक्री गरेका छन्। उनले बताए, “प्रत्येक परिवारले औसतमा ४५ हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी गरेको छ।”
कृषि विकास कार्यालयका तथ्याङ्कअनुसार यस वर्ष जुम्लामा करिब १३ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ, जुन विगत दुई वर्षयताकै न्यून उत्पादन हो। जिल्लाको कुल ३९ हजार ४३५ हेक्टर खेतीयोग्य जमिनमध्ये ४ हजार ४४५ हेक्टरमा स्याउ खेती भइरहेको छ, तर उत्पादन भने २ हजार १२५ हेक्टर क्षेत्रफलमा मात्र केन्द्रित छ।
हाल जुम्लामा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचारेड, जनाधन, गाला, फुजी र इटालियन जातका स्याउ व्यावसायिक रूपमा फलाइन्छन्। जुम्लाको स्याउ हरेक वर्ष सुर्खेत, नेपालगन्ज, दाङ, काठमाडौं लगायतका बजारहरूमा पठाइँदै आएको छ, जसले प्रदेशको कृषि अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ।

