धनसिंह रावत जुम्ला।
जुम्ला ।
‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धन : सामाजिक उन्नतिको संवर्द्धन’ भन्ने राष्ट्रिय नारासहित ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस जुम्लाको सिजामा विभिन्न कार्यक्रम आयोजना गर्दै सम्मानपूर्वक सम्पन्न गरिएको छ। हरेक वर्ष डिसेम्बर ३ मा विश्वभर मनाइने यो दिवसले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र सामाजिक सहभागिताको सन्देश दिन्छ।
महिला तथा बालबालिका शाखा—अम्बिका मल्ल
कार्यक्रममा शाखाकी प्रतिनिधि अम्बिका मल्लले अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक सबै सेवा–सुविधा स्थानीय तहदेखि परिवारसम्म सबैको समान जिम्मेवारीमा सुनिश्चित हुनुपर्नेमा जोड दिइन्। उनले नौ वटै वडामा समावेशी सेवा विस्तारको प्रयास निरन्तर भइरहेकाले थप सहयोग आवश्यक रहेको बताइन्।
सिजा गाउँपालिका अध्यक्ष—पूर्णप्रसाद धिताल
अध्यक्ष धितालका अनुसार अपाङ्गता जन्मजात मात्र होइन, जीवनका विभिन्न समयमा पनि हुन सक्ने भएकाले सबै तहबाट अपाङ्गता भएका व्यक्तिहरूका लागि सुरक्षित र सहज वातावरण बनाउनु नै प्राथमिकता हुनुपर्छ। उनले “अपाङ्गता भएका व्यक्तिले जहाँ—जसरी भए पनि आफ्नो दैनिकी सहजसँग गर्न पाउने व्यवस्था गर्नु नै हाम्रो कर्तव्य हो” भन्दै आवासीय र अन्य सेवामा सुधार हुँदै जाने जानकारी दिए।
अपाङ्गता संजाल जुम्ला—अध्यक्ष यज्ञ बुढाथापा
संजालका अध्यक्ष बुढाथापाले अपाङ्गता भएका व्यक्तिहरूले आफ्नै अधिकारबारे थप सचेत बन्नुपर्ने आवश्यकता रहेको स्पष्ट पारे। अधिकार प्राप्तिका लागि कागजी प्रक्रिया बुझ्ने, नगरपालिका तथा वडा कार्यालयसँग निरन्तर संवाद राख्ने र आवाज उठाउन नहिच्किचाउन उनले आग्रह गरे।
कार्यवाहक मेयर—रवि बहादुर थापा
चन्दननाथ नगरपालिकाका कार्यवाहक मेयर थापाले नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि सञ्चालन गरिरहेको सेवा–सुविधाबारे जानकारी दिँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याइने बताए। उनका अनुसार “नगरपालिका अपाङ्गता मैत्री सेवामा पूर्णतः प्रतिबद्ध छ।”
वडा नं. ५ का अध्यक्ष—बिख बहादुर काकी
अध्यक्ष काकीले अपाङ्गता भएका व्यक्तिहरूलाई कुनै एक समूहका रूपमा होइन, वडाका सबै नागरिकका रूपमा सम्मान र सहयोग गर्न आवश्यक रहेको बताए। “हक–अधिकार पाउन वडाको ढोका आफैँ पनि ढक्ढकाउनुपर्छ,” भन्दै उनले सेवा प्राप्तिमा सक्रियता आवश्यक रहेको बताए।
नगरपालिका अपाङ्गता सदस्य—कमला सेजुवाल
अपाङ्गता सदस्य कमला सेजुवालले अपाङ्गता जन्मजात मात्र नभई कुनै पनि अवस्थामा हुन सक्ने भएकाले समाजले हेला होइन, सम्मान र स्वीकार्यता दिनुपर्नेमा जोड दिइन्। उनले भनिन्, “अपाङ्गता भएका व्यक्तिहरूले पनि सक्षम व्यक्तिसरह काम गर्न सक्छन्, त्यसैले पहुँच, सेवा र व्यवहारमा समानता अनिवार्य छ।”

