जुम्ला जिल्लाको तातोपानी गाउँपालिका–६ हियाँखोला अझैसम्म मोबाइल टावरको पहुँचबाट बाहिरै रहेको छ। देशका विभिन्न स्थानमा 4G/5G सेवा, निःशुल्क वाइफाइ र डिजिटल सुविधाबारे बहस चलिरहेका बेला हियाँखोलाका बासिन्दा भने आज पनि सानो नेटवर्क समात्न डाँडाकाँडा चढ्न बाध्य छन्।

मोबाइल टावर नहुँदा यहाँका नागरिक शिक्षा, स्वास्थ्य, सूचना तथा आपतकालीन सेवाबाट गम्भीर रूपमा वञ्चित भएका छन्। विद्यार्थीहरू अनलाइन कक्षा लिन र विभिन्न फाराम भर्न असमर्थ छन् भने बिरामी पर्दा स्वास्थ्यकर्मी वा एम्बुलेन्ससँग सम्पर्क गर्न कठिनाइ भइरहेको छ। त्यस्तै, किसानहरू बजारको मूल्य तथा आवश्यक सूचना समयमै पाउन नसक्ने समस्या वर्षौँदेखि झेल्दै आएका छन्।

स्थानीयवासीका अनुसार पटक–पटक जनप्रतिनिधि, सरोकारवाला निकाय र सरकारसमक्ष माग राख्दा पनि आश्वासनबाहेक केही प्राप्त भएको छैन। चुनावको समयमा गाउँमा टावर राख्ने वाचा गर्ने तर जितेपछि बिर्सिने प्रवृत्तिले आफूहरूलाई दोस्रो दर्जाको नागरिकझैँ व्यवहार गरिएको एक स्थानीय लोकेश जङ्ग विश्वकर्माले गुनासो गरे।

टावर नहुँदा वैदेशिक रोजगारीमा रहेका आफन्तसँग समेत नियमित सम्पर्क हुन सकेको छैन। फोन गर्नका लागि गाउँभन्दा टाढाका डाँडामा घण्टौँ कुर्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ। सूचना तथा सञ्चारको पहुँच नागरिकको मौलिक अधिकार भए पनि राज्यले हियाँखोलाका नागरिकलाई यो अधिकारबाट वञ्चित गरिरहेको आरोप उनीहरूको छ।

यसैबीच, स्थानीयवासीहरूले स्पष्ट मागसहित चेतावनी दिएका छन्।
१. यथाशीघ्र हियाँखोलामा मोबाइल टावर स्थापना हुनुपर्ने।
२. माग पूरा नभए ध्यानाकर्षण तथा कडा दबाबका कार्यक्रम अघि बढाइने।
३. सरकार, दूरसञ्चार सेवा प्रदायक र सम्बन्धित निकायले पीडा नसुने यसको सम्पूर्ण जिम्मेवारी उनीहरूकै हुने।

Share.

Leave A Reply

Exit mobile version