जोखिमयुक्त स्थान बेवास्ता, सहज ठाउँमा पिचमाथि पिच – स्थानीयको आक्रोश
कर्णालीको आर्थिक तथा भौतिक विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्गको स्तरोन्नति कार्य सुरु भए पनि मुख्य समस्याग्रस्त र जोखिमयुक्त स्थानहरू अझैपनि बेवास्ता गरिएको स्थानीयको गुनासो छ। सुर्खेत–जुम्ला २३२ किलोमिटर दूरीको यस राजमार्ग अन्तर्गतको जुम्ला–कालिकोट खण्डका टिमुरे, भैसीगौंडा, भिग्म, टाकुल्ला लगायतका ठाउँहरूमा वर्षौंदेखि खाल्डाखुल्डी छन्, जसले गर्दा यातायात अत्यन्त कठिन बन्दै आएको छ।
दैलेखको तल्लो डुंगेश्वरदेखि पाल्तडासम्म पर्ने पादुका खोलाको अवस्था झनै खतरापूर्ण छ। वर्षातको समयमा धूलोले सवारीसाधन एकअर्कोलाई देख्न नसक्ने र हिउँदमा हिलोले गाडी फस्ने समस्या रहेकाले यस खण्डमा यात्रा गर्नु जोखिमपूर्ण बन्दै आएको छ।
यता सडक डिभिजन जुम्ला र सुर्खेतले जोखिमयुक्त स्थान छोडेर सहज क्षेत्रमा मात्र कालोपत्रे तथा ग्राभेलको काम अघि बढाएपछि स्थानीयवासी आक्रोशित भएका छन्। झन झम्से वर्षामा काम सुरु गरिएकाले पिचको गुणस्तरमा समेत शंका गरिएको छ।
सडक डिभिजन जुम्लाले चालु आर्थिक वर्षभित्र करिब ३३ करोड लागतमा ४३ किलोमिटर सडक कालोपत्रे गर्ने योजना अघि सारेको छ। जसमध्ये कालिकोट खण्डमा १७ किमी र जुम्ला खण्डमा २६ किमी सडक पिच गर्ने योजना छ। तर अधिकांश ठाउँमा पुरानो पिचमाथि पुनः पिच थपिने काम भइरहेको छ, जसले जनतामा विकासको प्राथमिकता र प्रभावकारिता प्रति गम्भीर प्रश्न खडा गरेको छ।
हिमा गाउँपालिका–६ का स्थानीय सूर्यबहादुर अधिकारीले जोखिमयुक्त खण्डलाई उपेक्षा गर्दै पिचमाथि पिच गर्ने कार्यप्रति असन्तुष्टि जनाउँदै यस्तो विकासको औचित्यबारे प्रश्न उठाएका छन्। तातोपानी–५ का प्रेम चौलागाईंले सहज ठाउँमा मात्रै काम हुनु विकासको असमानता भएको गुनासो गरे। उनले भर्खरै सुर्खेत–जुम्ला यात्रा गर्दा टाकुल्ला, टिमुरे क्षेत्रहरूमा गाडी चलाउनै नसकिने अवस्था देखिएको उल्लेख गरे।
उता तातोपानीकै युवा भीमप्रसाद उपाध्यायले राजमार्ग सञ्चालनमा आएको करिब दुई दशक बितिसक्दा पनि सुरक्षित र सहज यात्रा वातावरण नबनेकोप्रति दुख व्यक्त गरे। उनले सरकारको चरम उपेक्षाको आरोप समेत लगाए।
सडक डिभिजनका सूचना अधिकारी दीपेन्द्र चौधरीका अनुसार कालिकोट खण्डमा चार ठेक्कामार्फत १७.७ किलोमिटर कालोपत्रे भइरहेको छ। पहिलो प्याकेज अन्तर्गत डिएलएलसी केबी जेभीले ४ करोड १८ लाखमा र दोस्रो प्याकेजमा भैरव मष्ट निर्माण सेवाले १ करोड २८ लाखमा काम गरिरहेको छ। घोडेनादेखि नाग्मसम्म थप तीन प्याकेजमा १६ किमी सडक कालोपत्रे हुँदैछ।
जुम्ला खण्डमा उज्वल सानदार जेभीले १० करोड ३७ लाख लागतमा २६ किमी सडक पिच गर्दैछ। सडक डिभिजनका अनुसार असार मसान्तभित्रै सबै काम सकिनेछ।
यद्यपि अधिकांश काम पुरानो पिचमाथि पिच थप्ने (ओभरले) प्रकृतिको भएकाले जोखिमयुक्त स्थानको अवस्था यथावत छ। यसै कारण स्थानीयले विकासको उपयुक्त ढाँचाबारे गुनासो गरिरहेका छन्।
प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र बहादुर शाहीले समेत सतर्कता अपनाउन र गुणस्तरप्रति सचेत रहन सडक डिभिजन र निर्माण व्यवसायीलाई आग्रह गरेका छन्। तर सडक डिभिजन प्रमुख चौधरीले सबै सामग्री परीक्षण गरिएको र फिल्डमा नियमित अनुगमन भएकाले पिचको गुणस्तर एक इन्च तलमाथि नहुने दाबी गरेका छन्।
उनका अनुसार ओभरले गर्न स्टिमेटमै उल्लेख भएकोले काम नियमानुसार भइरहेको छ भने जोखिमयुक्त स्थानमा पनि क्रमशः सुधार गरिने जानकारी दिएका छन्।

