जब अधिकांश समकालीन युवा सरकारी जागिर वा वैदेशिक रोजगारीको सपना पछ्याइरहेका छन्, त्यही बेला सिंजा गाउँपालिका–६, भाडगाउँका २४ वर्षीय बलबहादुर रावत भने आफ्नै गाउँमै बसेर भेडापालनमार्फत भविष्य निर्माण गरिरहेका छन्।
माध्यमिक तहसम्मको अध्ययन गरेका रावतले पुर्ख्यौली पेशा भेडापालनलाई आधुनिक र व्यवस्थित ढंगले अगाडि बढाउँदै आत्मनिर्भर उद्यमीको रूपमा पहिचान बनाइरहेका छन्।
जहाँ उनका धेरै साथीहरू लोकसेवा आयोगको तयारीमा जुटेका छन् वा वैदेशिक रोजगारीको प्रयासमा छन्, रावतले भने ‘किस्मत पशुपन्छी पालन उद्योग’ स्थापना गरी आफ्नै माटोमा केही गर्ने आँट देखाएका छन्।
१४ सदस्यीय परिवारको आर्थिक जिम्मेवारी काधमा बोकेका उनले भेडापालनलाई मुख्य आम्दानीको माध्यम बनाएका छन्। उनका जेठा दाइ जापानमा विद्यार्थी भिसामा छन्, र त्यस सम्बन्धी खर्चको जोहो समेत उनले यही व्यवसायबाट गरिरहेका छन्।
रावत भन्छन्, “कसैका लागि भेडापालन सामान्य हुन सक्छ, तर मेरो लागि यही पेशा परिवारको मेरुदण्ड र भविष्यको जग हो। मैले सोचविचार र विश्लेषणपछि यसलाई व्यवसायिक रूपमा अगाडि बढाउने निर्णय लिएको हुँ।”
हाल उनीसँग १३० भन्दा बढी भेडा छन् र छिट्टै त्यो संख्या २०० पुर्याउने योजना बनाएका छन्। रावतको अनुभवमा भेडापालन आर्थिक दृष्टिले निकै लाभदायक छ। उनका अनुसार भेडाको प्रत्येक अङ्ग उपयोगी हुने भएकाले कुनै पनि चीज खेर जान्न दिने स्थिति छैन।
यद्यपि, यो पेशामा सहजता मात्र छैन। चरन क्षेत्रको अभाव, हिउँदमा घाँसको कमी, रोगव्याधिको जोखिम र पशु चिकित्सकको पहुँच अभावजस्ता चुनौतीहरू छन्।
तर, कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको ‘गोठालो भत्ता’ कार्यक्रमले भने यस्तो उद्यममा लागेका किसानलाई राहत दिएको छ।
५० वा सोभन्दा बढी भेडा पाल्ने किसानले मासिक १,५०० रूपैयाँका दरले वार्षिक १८,००० रूपैयाँ भत्ता पाउँछन्। रावत भन्छन्, “यस भत्ताले उपचार र व्यवस्थापन खर्चमा निकै सहजता मिलेको छ।”
जुम्ला जिल्ला पशु सेवा कार्यालयका अनुसार हाल जिल्लाभरि १,७०० भन्दा बढी किसान व्यावसायिक भेडापालनमा संलग्न छन् र कुल भेडा संख्या ८८,३८८ पुगेको छ।
कार्यालय प्रमुख ज्ञानेन्द्र सिंह बुढ्थापा भन्छन्, “भत्ता कार्यक्रमले निश्चित रूपमा किसानलाई उत्साहित बनाएको छ। अब चरन क्षेत्रको विस्तार, खर्क सुधार र आवश्यक भौतिक पूर्वाधारमा ध्यान दिन आवश्यक छ।”
बलबहादुर रावतजस्ता युवाहरूको लगनशीलता र आधुनिक सोचले कृषिपेशामा नयाँ आशा र सम्भावनाको ढोका खोलिदिएको छ।v

