धनसिंह रावत जुम्ला।
जुम्लाको सिंजा गाउँपालिका–६ काडागाउँमा एकै परिवारका पाँच सदस्य बेहोस भएको घटना सार्वजनिक भएको छ।

बुधबार राति खाना खाइसकेपछि तिर्थ बुढाको परिवार एका एक बेहोस भएको हो। परिवारका सदस्यहरूमा श्रीमती ३२ वर्षीया नैनकली बुढा, १२ वर्षीया छोरी प्रतिक्षा बुढा, १० वर्षीया प्रतिमा बुढा, ५ वर्षीया प्रकृति बुढा र २ वर्षीय छोरा युगान्त बुढा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार, उनीहरूलाई खाना खाएपछि आँखा पोल्ने, पेट दुख्ने र आन्द्रा बटारिने जस्ता लक्षण देखिएको थियो, जसपछि उनीहरू अचेत अवस्थामा पुगेका हुन्।

परिवारका घरमूली तिर्थ बुढा भने घटनाको समयमा सदरमुकाम खलंगा बजारमा काम विशेषले गएका थिए। उनका अनुसार, घरमा रातिको खानामा दही र गहुँको रोटी खाइएकाे थियो।

मध्यराति करिब १२ बजे पीडित सबैलाई एम्बुलेन्समार्फत सिंजाबाट जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको हो। हाल सबैको उपचार भइरहेको र स्वास्थ्यमा क्रमिक सुधार आएको तिर्थ बुढाले बताएका छन्।

प्रहरीका अनुसार घटनाको कारण अहिलेसम्म स्पष्ट भइसकेको छैन र थप अनुसन्धान जारी छ।जुम्लामा एउटै परिवारका पाँच सदस्य बेहोस अवस्थामा फेला

Share.

Leave A Reply

Exit mobile version