जुम्ला — पातारासी गाउँपालिका, वडा नम्बर २ मा पर्ने धोपाघाटको काठे पुल आज बेलुका अविरल वर्षापछि बगाएको छ। स्थानीय मानबहादुर बुढाका अनुसार, बेलुका करिब ५ बजे भारी वर्षा भएपछि अकस्मात पानीको बहाव बढ्दा पुल बगाएको हो।

“५ बजे तिर एक्कासी भारी पानी आयो, त्यसले हाम्रो नियमित आवतजावत हुने काठे पुल नै बगायो,” उनले भने।

काठे पुल बगाउँदा पातारासी गाउँपालिकाका करिब ४ सय घरधुरीलाई दैनिक जीवनमा समस्या भएको बुढाको भनाइ छ। “भोलिदेखि गाईबस्तु चराउन लैजान र नागरिकको आवतजावतमा समेत समस्या हुन्छ,” उनले थपे।

यस घटनापछि स्थानीय बासिन्दाहरूले पालिकाका जनप्रतिनिधिहरूसँग शीघ्र रूपमा वैकल्पिक काठे पुल निर्माण गर्न आग्रह गरेका छन्। स्थानीयले सरकार छ भन्ने अनुभूति दिलाउने किसिमले काम गर्न माग गरेका छन्।

Share.

Leave A Reply

Exit mobile version