कर्णाली प्रदेशको ऐतिहासिक चन्दननाथ मन्दिरमा रहेको दानपेटिकाबाट रकम चोरी भएको छ। बिहीबार दिउँसो २ बजेर ४० मिनेटतिर अज्ञात व्यक्तिले दानपेटिकामा फलामे रड घुसारेर रकम चोरेको सिसी क्यामरामा देखिएको छ।
मन्दिरका नायब सुब्बा रत्नप्रसाद आचार्यका अनुसार, करिब एक महिना अघिदेखि दुई वटा दानपेटिका खोलिएको थिएन र ती दुवैमा जम्मा भएको रकम १२ हजार रुपैयाँभन्दा बढी अनुमान गरिएको छ। चोरी गर्ने व्यक्तिले सुरक्षागार्ड खाजा खान गएको मौका छोपी रकम निकालिएको उनले बताए। आचार्यले भने, “रकम कति चोरी भयो भन्ने यकिन छैन तर केही रकम हराएको हो।”
चोरीको घटना भएपछि खोजी कार्य अगाडि बढाइएको छ। मन्दिर परिसरमा थप सुरक्षा आवश्यक भएको स्थानीयहरूले माग गरेका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रेशमबाबु रेग्मीले भने औपचारिक जानकारी मन्दिरबाट प्राप्त नभएको जनाएका छन्। तर, प्रारम्भिक जानकारीका आधारमा मन्दिर क्षेत्रको निगरानी बढाउन प्रहरीलाई निर्देशन दिइएको उनले बताए।
चोरीको घटनापछि अहिले मन्दिरको दानपेटिकामा ताला लगाइएको छ। दिउँसै श्रद्धालुहरूले आउजाउ गर्ने समयमा यस्तो घटना भएपछि स्थानीय स्तब्ध बनेका छन्।
उल्लेखनीय छ, यसअघि पनि चन्दननाथ मन्दिरबाट मूर्ति चोरी भएको थियो। तीमध्ये तीनवटा मूर्ति अहिलेसम्म फेला नपरेको मन्दिर प्रशासनले जनाएको छ।

