जुम्ला । जुम्लामा पहिलोपटक विद्युतीय भ्यान भित्रिएको छ। करिब साढे ४ करोड रुपैयाँको लगानीमा भित्रिएका १० वटा विद्युतीय सवारीसाधनले अब जुम्ली जनताले सस्तो, सफा र आरामदायी यातायात सेवा पाउने भएका छन्।

तिला कर्णाली यातायात प्रालिले यी भ्यान असार २६ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ। नाग्म बजारदेखि जुम्ला बजारसम्म करिब ३२ किलोमिटरको दूरीमा बाजागाजासहित भ्यान ल्याएर स्थानीयले भव्य स्वागत गरेका छन्।

यसअघि बत्तीको लागि आन्दोलन गर्ने अवस्था रहेको जुम्लामा आज विद्युतीय भ्यान गुड्न थालेको देख्दा ऊर्जा क्षेत्रमा भएको प्रगतिको स्पष्ट संकेत मिलेको उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटाले बताए।

भ्यान ल्याउने कम्पनीका अध्यक्ष पदमबहादुर भण्डारीका अनुसार, हरेक भ्यानको लागत करिब ४५ लाख ९५ हजार रुपैयाँ पर्छ। “१० वटा भ्यान भित्र्याउँदा साढे चार करोड रुपैयाँभन्दा बढी लगानी भएको छ,” उनले भने, “अब छोटो दुरीमा नियमित सञ्चालन हुनेछ र भाडादर पनि विगतको तुलनामा सस्तो हुने अपेक्षा छ।”

ईभीहरू एकपटक पूर्ण चार्ज गरेपछि २०० देखि ३०० किलोमिटरसम्म चल्ने क्षमता राख्दछन्। कम्पनीले इन्धनचालित पुराना सवारी साटेर थप लगानी गर्दै विद्युतीय भ्यान ल्याएको हो।

यात्रुहरूको सुविधाका लागि बसपार्क, नाग्म बजार र गुठिज्यूला क्षेत्रमा चार्जिङ स्टेशन निर्माणको काम अगाडि बढाइएको छ। जलवायु परिवर्तनसँगै वायू प्रदूषण बढेको सन्दर्भमा प्रदूषण घटाउन र वातावरणीय स्वच्छता कायम राख्न ईभी ल्याइएको बताइएको छ।

तिला कर्णाली यातायात प्रालिले चाँडै थप १० वटा विद्युतीय भ्यान भित्र्याउने योजना पनि सार्वजनिक गरेको छ। अहिले जुम्लामा १ मेगावाट क्षमताको चुकेनी जलविद्युत आयोजना सञ्चालनमा छ भने २०७८ सालदेखि ११ केभीको राष्ट्रिय प्रसारण लाइन जुम्लामा पुगेको छ।

विद्युतीय सवारीका कारण जुम्ला विकासको नयाँ चरणमा प्रवेश गरिरहेको अनुभव स्थानीयले गरेका छन्। “धूलो र धुँवाले हैरान बनाउने पुराना गाडीको तुलनामा विद्युतीय सवारीले निकै सहजता ल्याउनेछ,” तातोपानी गाउँपालिका–२ का हर्केश दमाई भन्छन्, “सडक र यातायातको कल्पनासमेत गर्न नसकिएको समयबाट आजको अवस्थासम्म आइपुग्नु नै परिवर्तनको संकेत हो।”

अध्यक्ष देवकोटा भन्छन्, “ईभीको मर्मतसम्भार जुम्लामै हुने व्यवस्था गरियो भने यो सेवा भरपर्दो बन्न सक्छ। यसको दीगोता र सञ्चालन खर्चले यसको भविष्य निर्धारण गर्नेछ।”

Share.

Leave A Reply

Exit mobile version