जुम्ला जुम्लाको पातारासी गाउँपालिका–५ स्थित लासीबजारमा प्रहरीले जुवातास खेलिरहेका १० जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा होटल सञ्चालकसहित विभिन्न वडाका स्थानीयहरू रहेका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार, ४८ वर्षीया उर्मिला बुढाको ओम हिमा होटलमा जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा शुक्रबार दिउँसो ५ः४० बजे छापा मारिएको थियो। प्रहरी निरीक्षक तथा सूचना अधिकारी असीम हमालको नेतृत्वमा पुगेको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार घटनास्थलबाट १ लाख २८ हजार २ सय रुपैयाँ नगद बरामद गरिएको छ। पक्राउ पर्नेमा पातारासी–४ का राम बुढा, वडा नम्बर ५ का धनबहादुर बुढा, श्यामबहादुर रेउले, कर्ण बुढा, नैन बुढा, गोविन्द बुढा, वडा नम्बर ६ का पूर्णसिंह महतारा, गोरख बुढा र वडा नम्बर ७ का अनिल खड्का रहेका छन्।
प्रहरीले पछिल्लो समय जुवातास तथा लागुऔषध नियन्त्रणमा विशेष अभियान चलाइरहेको जनाएको छ। जुवातासले समाजमा नकारात्मक असर पार्ने भन्दै समुदायमै चेतना अभियान सञ्चालन गरिरहेको प्रहरीले, संकेत भेटिएलगत्तै कारबाही थाल्ने रणनीति अपनाएको बताएको छ।

