जुम्ला
जुम्ला जिल्लाको तिला गाउँपालिका–६ सुडीका ३५ वर्षीय जंग बहादुर रावतको भिरबाट लडेर ज्यान गएको छ। दाउरा काट्न जंगल गएका रावतको साट्ले भन्ने स्थानमा करिब १०० मिटर तल मृत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी दिँदै प्रहरी चौकी रारालिहीका बरिष्ठ प्रहरी हवल्दार चन्द्र बहादुर थापाले बताएअनुसार, मृतक रावत दाउरा काट्न बिहान जंगल गएका थिए। साँझ अबेरसम्म घर नफर्किएपछि परिवारका सदस्यहरूले खोजतलास गर्ने क्रममा साट्ले जंगलको भिरतिर जाँदा शव फेला पारेका हुन्।
शव फेला परेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय जुम्लाबाट थप प्रहरी टोली घटनास्थलतर्फ पठाइएको छ। हाल घटनाको थप अनुसन्धान भइरहेको र प्रारम्भिक अनुमान अनुसार भिरबाट लडेर मृत्यु भएको भए पनि अन्य सम्भावनालाई समेत ध्यानमा राख्दै अनुसन्धान अगाडि बढाइएको प्रहरी स्रोतले जनाएको छ।
स्थानियवासीहरूका अनुसार साट्ले जंगल भिरालो र झ्याङ्गलोयुक्त क्षेत्र भएकाले दुर्घटनाको सम्भावना उच्च हुने गरेको छ। यसैगरी, स्थानिय तह तथा सुरक्षा निकायहरूले जनचेतनामूलक कार्यक्रमहरूमार्फत यस्ता दुर्घटनाबाट बच्न सतर्कता अपनाउन आग्रह गरेका छन्।

