जुम्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको स्वयंसेवी समूह एएमआर क्लबले अनामनगरस्थित कर्णाली माध्यमिक विद्यालयमा अध्ययनरत बहिरा तथा अपांगता भएका बालबालिकालाई स्वास्थ्य सामग्री वितरण गरेको छ।

दैनिक सरसफाइ र व्यक्तिगत स्वास्थ्यको महत्त्वबारे सचेतना फैलाउने उद्देश्यसहित क्लबले बहिरा आवासीय विद्यालयका विद्यार्थीहरूलाई टूथपेस्ट, ब्रस, साबुन, नेलकटर, रुमाल र टोकरी वितरण गरेको हो। प्रत्येक विद्यार्थीलाई झन्डै २१० रुपैयाँ बराबरको सरसफाइ सामग्री प्रदान गरिएको क्लबका अध्यक्ष प्रदिप नारायण जोशीले जानकारी दिए।

“हामीले बहिरा बालबालिकाको विशेष आवश्यकतालाई ध्यानमा राख्दै सरसफाइका सामग्री वितरण गरेका हौं,” अध्यक्ष जोशीले भने, “स्वस्थ जीवनका लागि सरसफाइ अनिवार्य भएकाले यस्तो प्रयासले उनीहरूमा आत्मनिर्भरता र स्वच्छता प्रतिको चेतना बढ्ने विश्वास लिएका छौं।”

एएमआर क्लबले अघिल्लो वर्षहरूमा पनि सरसफाइ, संक्रमण नियन्त्रण तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। क्लबले आगामी दिनमा अन्य विद्यालयहरूमा समेत यस्ता कार्यक्रम विस्तार गर्ने योजना बनाएको जनाएको छ।

Share.

Leave A Reply

Exit mobile version