जुम्ला, ५ साउन

डिभिजन वन कार्यालय जुम्लाले आर्थिक वर्ष २०८१/८२ मा कर्णाली प्रदेशभरका डिभिजन वन कार्यालयहरूलाई पछि पार्दै समग्र कार्यसम्पादनका आधारमा प्रथम स्थान हासिल गरेको छ। प्रदेशभरका ११ वटा डिभिजन वन कार्यालयहरूको तुलनामा जुम्लाले कार्यक्रम कार्यान्वयन, सेवा प्रवाह, बजेट उपयोग र संस्थागत समन्वयमा उत्कृष्टता देखाएको छ।

कर्णाली प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सुर्खेतमा आयोजना गरेको वार्षिक प्रगति समिक्षा कार्यक्रममा जुम्ला कार्यालयलाई ‘उत्कृष्ट डिभिजन वन कार्यालय’ घोषित गर्दै विशेष सम्मान प्रदान गरेको हो। सम्मानपत्र मन्त्रालयका सचिव शेर बहादुर श्रेष्ठले कार्यालय प्रमुख भरत बुढ्थापालाई हस्तान्तरण गरेका थिए।

प्रमुख बुढ्थापाको नेतृत्वमा जुम्ला वन कार्यालयले योजनाको समयमै कार्यान्वयन, कर्मचारी परिचालनको दक्षता, स्थानिय तहहरूसँगको सहकार्य तथा पारदर्शिता कायम गर्न सफल भएको मूल्याङ्कन गरिएको छ।

बुढ्थापाले आफ्नो कार्यशैलीमा ‘दायित्वप्रति उत्तरदायित्व’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै आएको बताउँदै, “यस सम्मानले हामीलाई गर्वभन्दा बढी जिम्मेवारीको बोध गराएको छ,” भने।सचिव श्रेष्ठका अनुसार, डिभिजन वन कार्यालय जुम्लाले योजना कार्यान्वयनमा देखाएको प्रतिबद्धता र सेवा प्रवाहको प्रभावकारिता अन्य जिल्लाहरूका लागि पनि प्रेरणादायी छ। उनका अनुसार, “जुम्लाले निर्वाह गरेको भूमिकाले वन क्षेत्रको सुशासन, पारदर्शिता र नतिजामूलक कार्यशैलीको उदाहरण प्रस्तुत गरेको छ।

”गत आर्थिक वर्षमा डिभिजन वन कार्यालय जुम्लाले कुल विनियोजित बजेटको ७८.३५ प्रतिशत उपयोग गर्दै उच्चतम खर्च कार्यसम्पादन दर हासिल गरेको थियो। कार्यालयको यो उपलब्धि व्यवस्थापन क्षमताको मात्र उपज नभई, सम्पूर्ण टोलीको सामूहिक प्रयास, नीति–कार्यान्वयनमा देखिएको स्पष्टता र निष्ठाको परिणति भएको स्थानीय विश्लेषकहरू बताउँछन्।

डिभिजन वन कार्यालय जुम्लाको यो सफलता जिल्लामात्र नभई कर्णाली प्रदेशभरका सरकारी कार्यालयहरूको सेवा प्रवाह र विकास कार्यक्रम कार्यान्वयनमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।

Share.

Leave A Reply

Exit mobile version