जुम्ला, साउन ११

जुम्ला जिल्लाको पातारासी गाउँपालिका–६ स्थित एक कच्ची घरमा आज बिहान ग्यास चुलोको प्रयोगका क्रममा आगलागी हुँदा दुई तला पूर्ण रूपमा जलेर नष्ट भएको छ।जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आगलागी विहान करिब ६:३० बजे रणु महतारा (उमेर करिब ३२ वर्ष) को तीनतले कच्ची घरको दोस्रो तलाबाट सुरु भएको हो।

बिहानको खाना पकाउने क्रममा ग्यास चुलो एक्कासी सल्किएपछि आगोले घरको दोस्रो र तेस्रो तला एकैछिनमा खाक बनाएको प्रहरीले जनाएको छ।इलाका प्रहरी पोस्ट उर्थुचौताराबाट प्राप्त जानकारी अनुसार आगलागीमा अन्नपात, लत्ताकपडा, भाँडाकुडा, काठपातलगायत घरायसी सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ।

यद्यपि, घटनामा मानवीय क्षति भने नभएको जनाइएको छ।घटनाबारे बिहान ८:३० बजे प्रहरीलाई जानकारी प्राप्त भएको थियो। सूचना प्राप्त हुनासाथ प्रहरी हवल्दार मनोजराज गिरीको कमान्डमा तीन सदस्यीय टोली घटनास्थलतर्फ खटिएको थियो।प्रहरी स्रोतका अनुसार उक्त घर प्रहरी चौकीबाट करिब पाँच किलोमिटर उत्तरमा पर्छ।

आगो हाल पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ भने घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।स्थानीयवासीका अनुसार टिनको छाना भएको कच्ची घरमा आगो तीव्र गतिमा फैलिएको थियो, जसले गर्दा आगो नियन्त्रणमा ल्याउन समय लाग्यो। क्षतिको यथार्थ विवरण संकलनको प्रक्रिया पनि अगाडि बढिरहेको प्रहरीले जनाएको छ।

Share.

Leave A Reply

Exit mobile version