दैलेख। साउन ११ गते बिहान दैलेखको दुल्लु नगरपालिका–११ स्थित छामघाट खोलाको किनारमा एक युवकको शव फेला परेको छ। शव दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका–६, लैनचौर निवासी २८ वर्षीय सुरेन्द्रबहादुर शाहीको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।
प्रहरीका अनुसार मृतक शाही केही साताअघि मात्र मलेसियाबाट फर्किएका थिए। उनी २०७९ असोज ३० गते मलेसिया गएका थिए र करिब ३३ महिना उतै बसेर २०८२ असार ३२ गते नेपाल फर्किएका थिए। स्वदेश फर्किएपछि उनले एक सातासम्म सुर्खेतको वीरेन्द्रनगरमा आफ्ना सन्तान र परिवारसँग समय बिताएका थिए।
साउन १० गते उनी आमाबुबालाई भेट्न दैलेख जाँदै थिए। सामान्यतः बड्डिचौर–तल्लोडुङ्गेश्वर हुँदै घर पुग्ने उनी यसपटक भने गुराँसे–माथिल्लो डुङ्गेश्वर हुँदै दैलेख बजारको बाटो रोजेका थिए। त्यसै क्रममा बेपत्ता भएका सुरेन्द्रको भोलिपल्ट बिहान शव फेला परेको हो।
मृतकका दाजु दीपक शाहीका अनुसार शवको अवस्थाले हत्या गरिएको स्पष्ट संकेत गर्छ। “घाँटीमा डोरी कसिएको देखिन्थ्यो र टाउकोमा गम्भीर चोट थियो,” उनले बताए। यस्तो अवस्थामा परिवारले घटना रहस्यमय भएको भन्दै हत्या भएको शंका गरेका छन्।
जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी गणेशबहादुर बरालले घटनाको अनुसन्धान जारी रहेको र मृतकको पोष्टमार्टम प्रक्रिया अगाडि नबढेको जानकारी दिए। “पोष्टमार्टम प्रक्रिया सुरु गर्न बाँकी छ। अनुसन्धानपछि थप विवरण खुल्नेछ,” डिएसपी बरालले बताए।
सुरेन्द्रका एक छोरा र दुई छोरी छन्। चार वर्षको छोरा र ६ वर्षीया छोरी हाल सुर्खेतमा अध्ययनरत छन् भने जेठी छोरी दैलेखमा हजुरबुबा–हजुरआमासँग बस्दै आएकी छन्। मलेसियामा रहँदाको क्रममा सुरेन्द्रकी पत्नीले गाउँकै अर्का युवकसँग विवाह गरेको आफन्तले बताएका छन्, जसका कारण पारिवारिक अवस्था जटिल बनेको बताइएको छ।
हाल शव जिल्ला अस्पताल दैलेखको शवगृहमा राखिएको छ। आफन्तले दोषी नपक्रिएसम्म पोष्टमार्टम नगराउने अडान राखेका छन्। घटनाको थप विवरण र अनुसन्धानको प्रतिवेदन आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

