नेपाली कांग्रेस जुम्लाले आउँदो निर्वाचनलाई लक्षित गर्दै प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभातर्फ गरी जम्मा २२ जना उम्मेदवारको नाम सिफारिस गरेको छ।
प्रत्यक्ष निर्वाचनतर्फ पार्टीका जिल्ला सभापति कर्णबहादुर शाही, पूर्व सांसद कान्तिका सेजुवाल, पूर्णप्रसाद आचार्य र खड्गबहादुर सेजुवाललाई उम्मेदवारका रूपमा अघि सारिएको छ।
समानुपातिक प्रणालीअन्तर्गत पूर्व मन्त्री दिनबन्धु श्रेष्ठ, धनबहादुर बस्नेत, गोविन्द शाही, पुरिचन्द्र देवकोटा लगायत १४ जनाको नाम सिफारिस सूचीमा समावेश गरिएको छ।
यसैगरी राष्ट्रिय सभाका लागि कर्णाली प्रदेश कांग्रेस सभापति ललितजङ्ग शाही, पूर्व राज्यमन्त्री भक्तबहादुर रोकायासहित चार जनालाई सिफारिस गरिएको छ।
जिल्ला कार्यसमिति सदस्य महेन्द्र कार्कीका अनुसार पार्टीभित्रको छलफल र तय गरिएका मापदण्डका आधारमा उम्मेदवारहरूको नाम सिफारिस गरिएको हो। सिफारिस सूची केन्द्रमा पठाइसकिएको र अन्तिम निर्णय केन्द्रीय तहबाट हुने उनले जानकारी दिए।

