आकाश सुनार जुम्ला।
जुम्ला — जुम्लामा शैक्षिक अवस्था सुधारका लागि शनिबार एक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भयो। चन्दननाथ नगरपालिका अन्तर्गतको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा र रेडियो कर्णाली जुम्लाको सहजीकरणमा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा सहभागी सरोकारवालाहरुले पछिल्ला वर्षहरूमा शिक्षाको स्तरमा आएको गिरावटप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई सुधार गर्न साझा प्रयासको आवश्यकता रहेको धारणा राखे। कार्यक्रममा “शिक्षा क्षेत्रमा आएको अवनति कसरी रोक्ने?” भन्ने विषयमा गहिरो छलफल गरिएको थियो।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरिनन्द आचार्यले एकल प्रयासले मात्र शिक्षा सुधार सम्भव नहुने भन्दै सबै पक्षको समन्वय र साथ आवश्यक रहेको बताए। उनले जुम्लाको सन्दर्भमा कतिपय विद्यालयहरू गाभ्नुपर्ने अवस्था आएको उल्लेख गरे।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापाले अभिभावकहरूले आफ्ना बालबालिकाको पढाइप्रति आवश्यक ध्यान नदिँदा सुधारमा बाधा पुगेको बताए। उनका अनुसार, नगरक्षेत्रका विद्यालयहरूमा विशेष अभ्यास र सुधारात्मक कार्यक्रमको खाँचो छ।
जिल्ला शिक्षा समन्वय इकाई जुम्लाका प्रमुख शेर बहादुर रोकायाले शिक्षक दरबन्दीको अभाव र कतै विद्यार्थी नभएको अवस्थालाई पनि शिक्षा क्षेत्रमा चुनौतीका रूपमा औंल्याउँदै सबैले सुधारको पक्षमा काम गर्नुपर्ने धारणा राखे।
रेडियो कर्णाली जुम्लाका स्टेशन म्यानेजर गोरख बहादुर थापाले अभिभावकहरू निजी विद्यालयमा पढ्ने विद्यार्थीप्रति बढी चासो देखाउने तर सामुदायिक विद्यालयमा भने त्यो कम हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे।
उनले जिल्लामा शिक्षा क्षेत्रमा संलग्न विज्ञ र जानकार व्यक्तिहरूको सुझावलाई यथार्थमा उतारेर मात्र गुणस्तरीय सुधार सम्भव हुने विश्वास व्यक्त गरे।

