जुम्ला — जुम्लाको गुठिचौर गाउँपालिका–५ स्थित धौलीगाडको ठूलो हाँका पाटनमा चट्याङ पर्दा १९७ वटा भेडाको ज्यान गएको छ। सोमबार दिउँसो साढे ४ बजे पाटनमा चराइको क्रममा रहेको बथानमा चट्याङ खस्दा छ जना किसानका भेडा मरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

घटनाबारे जानकारी दिँदै प्रहरी नायव उपरीक्षक (डीएसपी) रविनबाबु रेग्मीले मृत भेडाको संख्या १९७ पुगेको पुष्टि गर्नुभयो। कुन किसानका कति संख्यामा भेडा मरेका हुन् भन्ने विवरण संकलनको क्रममा रहेको उहाँले जानकारी दिनुभयो।

चट्याङ लागेका सबै भेडाहरू एकै थलोमा चरिरहेका थिए। घटनास्थलमा सुरक्षा निकाय र स्थानीयवासीको टोली पुगेर क्षतिको विवरण संकलन गरिरहेको प्रहरीले जनाएको छ।

सोही घटनामा परेर सिंजा गाउँपालिका–४, भाडगाउँका ५२ वर्षीय धनबहादुर रावत घाइते भएका छन्। उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ। सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालका अनुसार रावतको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

स्थानीय भेडापालक किसानहरूका अनुसार जुम्लामा चट्याङ लागेर भेडा मर्ने घटना पछिल्ला वर्षहरूमा दोहोरिइरहेका छन्। चैत–असार महिनामा विशेषगरी पाटन क्षेत्रमा चराउन लगिएको भेडाको बथान बारम्बार चट्याङको मारमा पर्ने गरेका छन्।

यस प्रकारको प्राकृतिक प्रकोपले किसानहरूको जिविकोपार्जनमा गम्भीर असर पारिरहेको भन्दै उनीहरूले जोखिम न्यूनीकरणका उपाय खोजिनु पर्ने माग गरेका छन्।

Share.

Leave A Reply

Exit mobile version